भन्न मन लाग्छ
— घनश्याम कोइराला
मलाई भन्न मन लाग्छ
तिमी बोल्दै जाऊ
म सुनिरहुँला
मुख मात्र छ तिमीसँग
कान पनि मसँग मात्र छ ।
मलाई भन्न मन लाग्छ
तिमी जादुगर हौ
चमत्कार गर्न सक्छौ
आज केही छर्न सक्छौ
भोलि अर्कै उमार्न सक्छौ ।
भन्न मनलाग्छ
तिमी बोल्दै जाऊ
पुरानो कुरा अहँ हुन्न तिमीबाट
किन कि तिमी अग्रगामी हौ
तिमी बिर्सने बिरामी हौ ।
मलाई भन्न मन लाग्छ
बिस्कुन मात्र नछर
घाम छैन तिमीसँग
ततेर्न सक्ने सीप र धोक्रो छैन
फगत बिस्कुन मात्र छ ।
फेरि भन्न मन लाग्छ
तिमी छर्दै जाऊ
बिस्कुन, जालझेल र अलमलका
तिमी यस्तै गर्न सक्छौ
जति पनि छिरोल्न सक्छौ ।