विमानस्थल

-जयन्ता खत्री ‘सुधा’
विरक्त अनुहारहरू भेटिने एउटा पुस्तकालय
बेवारिसे लासहरू बाकसमा खाँदिएर आउने धावनमार्ग
इतिहास सम्झिएर
खुब तर्खराएर
आफन्त, परिवार र छरछिमेक
कसैलाई सन्तोष त कसैलाई वेदनाको पर्खाइमा छोडेर
निधारमा अबिर रुपी कलङ्क
गर्धनमा दोसल्ला रुपी लाञ्छना
हातमा पासपोर्ट स्वरूप हीनता बोकेर
बाँझो जमिन छोडेर
आज पनि प्रदेशिनेहरुको भिड उस्तै छ
यो राजधानीको विमानस्थलमा
पर्खिनेहरू कोही सास भए पनि पर्खेका छन्
पर्खिनेहरू कोही लास भए पनि पर्खेका छन्
अझै पनि पर्खाइ जारी छ
नपत्याए त्यो सयपत्री र मखमली लाई सोध
ऊ तिमिलाई पर्खिदा पर्खिँदै ओइलाएको छ
नपत्याए त्यो अबोध बालकलाई सोध
ऊ तिमी आउने आशै आसमा निदाएको छ
नपत्याए बुढी आमाको बर्को लाई सोध
तिमिलाई अङ्गाल्ने रहरमा रङ खुइलिएको छ
नपत्याए त्यो हिमाल लाई सोध
तिम्रो बाटो हेर्दा हेर्दै पग्लिएको छ
नपत्याए त्यो मृगलाई सोध
तिम्रो अनुहार खोज्दा आफ्नो बथान हराएको छ
नपत्याए त्यो खेत बारी लाई सोध
तिम्रो जोताइ र सिचाई पर्खिदा पर्खिँदै बन्जर भएको छ
तिमिलाई कति प्यारो भयो ,त्यो प्रवासको पान र गुड्का?
जो बासमतीको भात बिर्स्यौ
तिमिलाई कति मिठो लाग्यो, त्यो प्रवासको चिकेन र मटन?
जो सातु र मोही बिर्स्यौ
तिमिलाई कति आनन्द दियो, त्यो आलिसान महलको रङले?
जो इन्द्रेणी को रङ बिर्स्यौ
तिमिलाई कति ताप दियो, त्यो कृत्रिम हिटर ले?
जो आमाको काख बिर्स्यौ
तिम्रो लागि बरु म चुहिगम हुन तयार छु
तिमिलाई चपाउने बानी परेको भए
तिम्रो लागि म बरु रेटिन्छु
तिमिलाई लुछ्ने आदत भएको भए
तिम्रो रच्छ्यानमा बहुरङ्गी भएर फुलिदिन्छु
तिमिलाई रङ्गिन सपना देखिन्छन् भने
तिम्रो लागि जलेर कोइला बनिदिन्छु
तिमिलाई ताप्ने बानी बसेको भए
तर……..
तर, यसमा मैले राखेको सर्त जित्नुपर्छ तिमिले
तिमि जस्तो गएका थियौँ
त्यस्तै फर्किनुपर्छ विमानस्थलमा
तिमि त्यो बालकको सपना नबिथोलिँदै र निद्रा नखुल्दै
आइपुग्नु पर्छ विमानस्थलमा
तिमिले आमाको बर्को नफाट्दै
टेकिसक्नुपर्छ विमानस्थलमा
तिमि त्यो गुराँस, सयपत्री र मखमली नझर्दै
झरिसक्नुपर्छ जहाज बाट
तिमि त्यो जमिन नभासिँदै
सजिएको हुनुपर्छ दौरा सुरुवालमा,
समाई सक्नुपर्छ हलो र जुवा
अनि तिमि बाजि जित्ने छौँ
मैले तिम्रो हरेक सर्त मान्नुपर्नेछ र म मान्दछु
रुँदै हात हल्लाएको विमानस्थलमा
स्वगतको लागि पुष्पगुच्छा र सिउँदो सिँदुर
लाएर बसेकी छु
मलाई धक्का लगाएर पुष्पगुच्छा नटेक्दै
मलाई नरपिचासहरुले कुदृष्टिले नदेख्दै
तिमि झुल्किनु पर्नेछ विमानस्थलमा
तिमिलाई मैले जत्तिकै कुरेर बसिरहेको छ
उही पुरानो विमानस्थल
उही राजधानीको विमानस्थल।
