घाइते समय

-कृष्ण ‘गाउँले’
म भन्दा
केही गुणा गह्रुङ्गो झोला बोकेर
आमा ! अब म स्कुल जान्न ।
मेरो झोलामा हुँदैन तिम्रो पानी पँधेरो
कुनै गोजीमा हुँदैनन्
दिदीले चुलोमा चुहाएको असंकलित आँसुहरु
न हुन्छ बाको लोहा पगाल्ने आरन
कहिल्यै हुँदैन दाइको हलोको कथा
र त अब म स्कुल जान्न ।
सधैँ मेरो झोलामा हुन्छन्
न पुर्खालाई काम लागेको
न पुस्तालाई काम लाग्ने
न आयात, निर्यात भएको अगणित ।
र त मलाई स्कुल जानै मन लाग्दैन ।
सधैँ हुन्छ
मेरा अग्रजले नजानेका
छिमेकीले नबोलेका
तर मैले जान्नै पर्ने आयातित भाषाहरु
पढाईन्छ; अस्ताएका दिनहरुको इतिहास
लेखाइन्छ; फुल्न बिर्सिएका फूलहरुको कहानी
अभ्यास गराइन्छ बीचमै बाटो बिराएका
गन्तव्यविहीन पाठ्यक्रमको कहानी
सुनाइन्छ मौनधारण गरेका आवाजहरु
देख्न लगाइन्छ पुर्खाले जबर्जस्त देखेका स्वादहीन सपनाहरु
जबर्जस्त स्वीकार्न लगाइन्छ सीपविहीन शिक्षा नीति ।
साथी तिमी
स्कुल नजाउ
मलिन अनुहार बोकेर
त्रासैत्रास मनमा बुनेर
उलटपुलट परनिर्मित भाग्य लिएर
हामी आफ्नै खेल खेल्न चाहन्छौँ
जुन हाम्रै अधीनमा खेल्न सकियोस्
अवश्य म त्यो दिन स्कुल जानेछु
जुन दिन मेरा ईच्छाहरुको व्यापार रोकिने छ
भत्किएका मेरा सपनाका मुहार हर्षमा डुब्नेछन्
जुन दिन मनको भावना चित्रित विषयहरु बन्नेछन
जुन दिन समयलाई चिनेको पाठ्यक्रम बन्नेछ
त्यो दिन कोही पनि भोको नहुने बिहान उदाउनेछ
त्यो दिन बन्द आँखाहरु खुल्नेछन्
सोही दिन सबैतिर उषालाली छाउने छ
त्यही दिन निदाएको विज्ञान ब्यूँतिने छ ।।
बुटवल
