जाजरकोटमा नपुगेको त्रिपाल

– कृष्ण ‘गाउँले’
जाजरकोट- रुकुममा
मध्ये रातमा भूकम्प पुग्यो
झिसमिसेमा प्रधानमन्त्री पुगे
संगै पुगे मन्त्री, नेता, समाजसेवी
पुगे कर्मचारी, मनकारी, धनकारी ।
बल्लतल्ल हुल लिएर बृद्ध राष्ट्रपति पुगे
कहिलै नपुगेको पजेरो, प्राडो, स्कार्पियो पुग्यो
जहाज, हेलिकप्टर पुग्नुपर्ने सबै पुग्यो
ठूला मान्छेहरुको लस्करलाई सम्मान पुग्यो
नपुगेको त्रिपाल हो, कम्बल हो, चिउरा र नुन हो ।
नेपाली मन पुग्यो
अन्तर्राष्ट्रिय वचन पुग्यो
सहानुभूति पुग्यो, दया पुग्यो, पिर पुग्यो
त्यहीँ खिच्न, ठूला क्यामेरा लिएर ठिटो पुग्यो ।
घर-छानो नभएको खबर पाएर
सबैभन्दा छिटो चिसो हिउँको सिरेटो पुग्यो ।
नपुगेको त्रिपाल हो, कम्बल हो, चिउरा र नुन हो ।
जाजरकोट-रुकुममा रोग पुग्यो,
आफन्तको वियोगमा शोक पुग्यो
जाजरकोट-रुकुममा भोक पुग्यो,
खान राखिएको अन्न माटोमा पुग्यो
काल पुग्यो, अनिकाल पुग्यो
नपुगेको त्रिपाल हो, कम्बल हो, चिउरा र नुन हो ।
