मुक्तक

-ऋषिराम भुसाल
१
म औंलो दिन खोज्छु, डुँडुलो समेत माग्छौ तिमी
मैले केही दिन सकिन भने, पर-पर भाग्छौ तिमी
मबाट केही नपाए मेरै विरोध गर्न पछि नपर्नेले,
थोरै केही दिएँभने मेरै पक्षमा बोल्न जाग्छौ तिमी।
२
मरेपछि स्वाङ पार्छन्, जिउँदो छँदा फाटेर बस्छन्
सँगै छँदा पर सर्छन्, मरेपछि भावना साटेर बस्छन्
यो कलिमा के यस्तो अनौठो देख्न पाइन्छ कुन्नी ?
मरेपछि आफन्तको सम्झनामा केक काटेर बस्छन्।
३
कसैको निधारबाट मात्र भाग्य बिन्न सक्ने भए
पैसाले सबैभन्दा उम्दा किस्मत किन्न सक्ने भए
पैसा कमाएकोमा फूर्ती लाए पनि सुहाउथ्यो पक्कै,
पैसाले मात्र समाजमा इज्जतदार चिन्न सक्ने भए ।
गुल्मी मदाने हाल काठमाडौं ।
