तपाईं के काम गर्नुहुन्छ ? - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३० मंसिर २०८२, सोमबार

तपाईं के काम गर्नुहुन्छ ?



-रज्जु बिडारी ‘काली’

तपाईँ के काम गर्नुहुन्छ ?,गर्न त म धेरै थरी काम गर्छु तर सबैले सोध्ने यो प्रश्नको जवाफमा म केही काम नि गर्दिनँ भनेर दिन्छु।मान्छेहरू फेरि भन्छन् होइन होला केही त पक्कै गर्नुहुन्छ ?म हाँस्दै भनिदिन्छु”सानोमा बुवा ममीले पाल्नुभयो,अहिले श्रीमानले पाल्नु भएको छ अनि बुढेसकालमा पाल्छ भनेर छोरा पाएको छु अनि किन काम गर्नुपर्‍यो मैले ।मेरो ठट्यौली जवाफ सुनेर उहाँहरू हाँस्नुहुन्छ।

साँच्चै भनेको म केही काम गर्दिन।यहाँ काम गर्ने भनेको त्यसको बदलामा पैसा कमाउनु हो।परिश्रम (पैसा )भयो भने मात्रै काम गरेको मानिन्छ ।तर म धेरै काम गरेर नि पैसा कमाउने काम चैँ गर्दिनहै फेरि ।बिहानै देखि बेलुका सम्म मैले गरेको कामको बदलामा मलाई गाँस बाँस कपास स्वास्थ्य मनोरञ्जन, सुरक्षा सबै सुविधा उपलब्ध गराइएको छ ।म १०-४ को होइन उस्तै परे चौबीसै घण्टा पनि काम गर्छु तर मेरो तलब आउँदैन।मैले यो मेरो कमाई भनेर देखाउने पारिश्रमिक नै नलिगी कसरी भनौँ म यो काम गर्छु भनेर?

म बिहानै उठ्छु परिवारलाई खाना बनाउँछु बच्चालाई हतार हतार खुवाएर स्कुल पुर्याउछु।फर्केर आउँछु बाकी परिवारलाई खाना खुवाउँछु,भाडा माझ्छु, घर सफा गर्छु ,कपडा धुन्छु।कतै घर बाहिर जानुपर्ने काम(सामान किन्न आफन्त भेट्न,बिरामी भेट्न वा अरू दैनिक जीवनमा आउने फरक फरक काम)भए जान्छु नत्र पसलमा बस्छु।सामान बेच्ने होइन बनाउने पसलमा मैले केही काम गर्दिन।बनाउन ल्याएको सामान राख्ने र बनेको सामान पठाउने बाहेक ।दिउँसो खाजा बनाउनु,बच्चालाई स्कुलबाट ल्याउनु खाजा खुवाउन ,गृहकार्य गराउनु साझको खाना बनाउनु ,बच्चालाई खुवाउनु अनि उहीँ भाडा माझ्नुलाई म कसरी काम भन्न सक्छु?

साँच्चै भनेको म अरू पनि केही काम गर्दिनँ ।बच्चा बिरामी भए रातभरि नसुती उसको हेरचाह गर्नु,अस्पतालमा लिएर जानू नखाए कसरी खान्छ भनेर फकाई फकाई उसलाई औषधि र खाना खुवाउनु काम होइन आमाको जिम्मेवारी (माया ममता)हो ।परिवारलाई सघाउनु पाहुनालाई स्वागत सत्कार गर्नु त झन् काम हो भन्ने कुरा नै भएन। अनि आफै भन्नुस् त हजुर म के काम गर्छु?

कहिलेकाहीँ श्रीमान् सँग पैसा माग्दा उहाँले हाँस्दै भन्नुहुन्छ ,कति सजिलो है आफूले कमाउनु परेको भए पो खर्च गर्न माया लाग्नु।म पनि हाँस्दै भनिदिन्छु ठिकै छ नि हजुर आजबाट मेरो पनि हरेक कामको हिसाब किताब गरेर मलाई महिनावारी तलब दिनुस् म पैसा माग्दिन।
१-कपडा धोएको
२-बिहानै देखि बेलुका सम्म खाना बनाउने भाडा माझ्ने र घर सफा गर्ने
३-बच्चालाई चौबीसै घण्टा हेर्ने र ट्युसन पढाउने ..
भई हाल्यो बाकी कामको चैँ लिन्न ,यिनीहरूलाई दिने पैसा दिनुस् ,त्यति भए पुग्छ।
अनि साँच्चै गर्लफ्रेन्ड घुमाउन लैजाने खर्च नि दिनुस् है।हजुर त मलाई कहिल्यै घुमाउन भ्याउनु हुँदैन म आफै घुम्छु।
मेरो जवाफले उहाँ हाँस्दै भन्नुहुन्छ “घुमाउन मन नभएर नघुमाएको हो र बुढी?घुमाउँदा घुमाउँदै तिमीलाई रिँगटा लागेर लड्लिउ फेरि भनेर बुढीको माया लागेर पो नघुमाएको।फेरि म नै तिम्रो मैले कमाएको पनि सबै तिम्रो नै त हो नि,पैसा पो किन चाहियो भनेको त?

हुन त हो नि घर परिवार आफन्त श्रीमान् छोराछोरी सबै मेरै हुन्।यो धन सम्पत्ति सबै मेरै हो, त्यहीँ भएर त म केही काम गर्दिन नि।जसको कारणले पाँच रुपैयाँ चाहिए नि हात फैलाएर माग्नुपर्ने हुन्छ ,किनकि म गृहिणी हु।त्यसैले अबदेखि नसोध्नुस् है तपाईँ के काम गर्नुहुन्छ भनेर,किनकि म केही काम गर्दिनँ ।

धार्के,धादिङ ।