विश्वासको असर

–सुशील सापकोटा
हामी कथाको अन्त्यमा छौँ । तपाइलाई अचम्म लाग्न सक्छ, सुरुवातमै कथाको अन्त्य कसरी सम्भव भयो ? यसलाई तपाई कथाको सुरुवात र विषयवस्तुको अन्त्य वा दुवैको अन्त्य वा दुवै मान्न सक्नुहुन्छ । सुरुवातमै अन्त्य भएको कथाको सुरुवात कहाँ होला ? सायद अन्त्यमा वा बिचमा वा उत्तरार्धमा, यतै कतै अवश्य हुनुपर्छ । कथाको अन्त्यमा केटा र केटिको विहे भएको छ । विहे भएको प्रसङ्ग आउनासाथ तपाइलाई लाग्न सक्छ, कि यो कथा त प्रेमको कथा रहेछ । हतार नगर्नुस प्रेमको कथा भए नभएको कथा पढेपछि तपाइले बुझ्नुहुनेछ । हुन त विहेको दिन भनेको झन रंगीन जीवनको सुरुवात हो । बिहेको दिनलाई कथाको अन्त्य बनाउनु त्यती स्वभावीक जस्तो त लागिरहेको छैन । तैपनि केटा र केटीको विहेको दिन कथाको पो अन्त्य हुँदैछ । उनिहरुको जीवन त उनिहरुकै हातमा छ । त्यसो त विहे पछिको केही रंगीन समयका रंगीन शब्दहरु कथामा मिसाएर कथालाई लम्ब्याएको भएपनि हुने हो वा जीवनको अन्तीम पानासम्म पुगेर कथाको बिट मारेको भएपनि हुने हो । त्यसो गर्दा पनि जीवनको अनन्त स्वरुपमा अर्का जीवनहरु नयाँ कथाहरुसहित जोडिने पक्का छ । तसर्थ विहेको दिनलाई कथाको अन्तिम दिन बनाउने निर्णय गरिएको जानकारी गराउन चहान्छु । विहे पूर्णतया मागी थियो । यानीकी आफन्तहरुमार्फत केटि हेरेर निर्णय गरीएको विहे । कथाका मुख्य पात्रहरु केटा र केटी हुन् । तीनका बुवा आमा, परिवार, आफन्त, छरछिमेक सवै विहेमा सहभागी छन् तर कथामा उनिहरु त्यती महत्वपूर्ण स्थान बनाउन चुकेका छन् । मुख्य पात्रका केही व्यक्तित्व, योग्यता, सामाजीक आर्थीक स्तर यसप्रकार छ ।
केटो
उमेर :२५ बर्ष ६ महिना १८ दिन (विहेको दिन)
योग्यता: स्नातकोत्तर, मानविकी शंकाय
उचाई:५ फुट ६ इन्च्
वर्ण: गहुँगोरो
रक्त समूह: ए पोजेटिभ्
पेशा: कुनै जील्लाको मालपोत कार्यलयमा नायब सुब्बा
जात: जातमा के छ र ?
स्वभाव: सामान्य
सामाजीक स्तर:समाजमा जान्ने बुझ्ने श्रेणीको, समाजले इज्जतीलो ठहरेको
आर्थिक स्तर:मध्यम बर्गिय
केटी
उमेर:२२ बर्ष १ महिना ९ दिन (विहेको दिन)
योग्यता: स्नातक, शिक्षा शंकाय
उचाई: ५ फुट ३ इन्च्
वर्ण: गोरो
रक्त समूह: बी पोजेटिभ्
पेशा: बोर्डिङ्ग स्कुलमा नि.मा. तह अध्यापन
जात: केटाको जस्तै
स्वभाव: चञ्चल, छिट्टै विश्वास गर्ने
सामाजीक स्तर: समाजले नैतीक रुपमा राम्री मानेको
आर्थिक स्तर: मध्यम बर्गिय
माथी मुख्य पात्रका बारेमा केही जानकारी प्रस्तुत गर्ने कोषिस यसर्थ गरिएको हो, कि यसले पाठकहरुलाई केहि सहजता अवश्य प्रदान गर्नेछ ।
हुनत धेरै शिर्षकहरु छुटेका छन् । पहिलो त नाम नै छुटेको छ । नाम छुटेको भन्दा पनि छुटाइएको हो । कारण, उहि माथि जातमा के छ र ? भनेझैँ हिन्दीमा एउटा कहावत (उखान) छ ः नाममे क्या रखा हे ? नाम महत्वपूर्ण कुरा होइन भनेर सेक्सपीयरले पनि भनेको तपाइलाई थाहै होला । यसकारण पनि उनिहरुको नाम त्यती महत्वपूर्ण नठानिएको हो । पाठकहरुले आ–आफ्नो रोजाइ अनुसार केटा केटीको नाम राख्न सक्नुहुनेछ । तर थर भने नराख्नुहुन अनुरोध छ । किनभन्दा यो जात, थर त्यती महत्वपूर्ण कुरा हो जस्तो मलाई लाग्दैन ।
विहेको दिन जीवनको महत्वपूर्ण दिन । जीवनभरको यात्रामा पाउ गल्दा साहारा दिने, खुसी बाँड्ने, आँशु साटेर हरपलको साथी बन्ने जीवनसाथीसँग जीवन जोडिने दिन, अवश्यपनि महत्वपूर्ण र खुसीयालीयुक्त हुने नै भयो । हुनै प¥यो । विहेको दिनभन्दा एकदिन अघिसम्म, जुन दिन टिकाटालो गरेको दिनको चौधौँ दिन थियो । अव तपाइले बुझ्नुभयो, टिकाटालो र विहेको दिन बिचको दुरी पन्ध्र दिनको थियो । विहेको अघिल्लो दिनको राती ११ः०० बजे फोनमा बोल्दासम्म केटा केटी दुबैजना खुसी छन् । टिकाटालोपछि लगातार चौध दिनसम्मको निरन्तर सम्बादमा उनिहरुले आफ्ना धेरै विगत, पारिवारीक पृष्ठभूमी, आफ्ना रोजाइहरु, भविष्यका योजनाहरु अनि सहयात्राको सुमधुर यात्राका योजनागत प्रस्ताव तथा निर्णहरु लगायत धेरै विषयमा कुराहरु सम्पन्न गरिसकेका थिए । राती ११ः२० बजे उनिहरु फोन सम्वाद सकेका थिए । फोनमा केहि त्यस्तो कुरा भयो वा कारण अरु थियो, विहेको दिन केटो बडो दुःखी देखियो । केटो दुःखी देखिनुको कारण केटोलाई मात्र थाहा थियो । अरुलाई त यो पनि थाहा थिएन कि, केटो दुःखी छ । अर्को कुरा केटो दुःखी भएपनि उपस्थितहरुले उसलाई दुःखी देखेनन् । कसैले पनि विहेको दिन केहि भावुक भएको अनुमान लगाउने सहज र स्वभाविक प्रक्रियाको बाटो नहिडेर शंका उपशंकाका परिधिमा घुम्नुपर्ने कुरालाई धर्म सम्झिनुपर्ने हेक्का राखेनन् । विहेको दिनजस्तो विशेष हर्षको दिनमा पनि केटो भने मनैदेखि दुःखी रहेको कुरा शय प्रतिशत सत्य हो । आखीर के भयो ? अघिल्लो रात सम्म खुसी केटो, कसरी विहेको रमझममा एक्कासी दुःखी भयो ? अन्त्यबाट सुरु भएको कथाको सुरुवात सम्ममा पक्कै यो रहस्यको पर्दा खुल्नेछ । खुल्नैपर्छ । तर तपाईंले चाहेको खण्डमा अनुमान लगाउँदै गर्न सक्नुहुने प्रावधान पारित भएको जानकारी पनि गराएँ । विहेको माहोल भनेपछि रमझम त हुनेनै भो । पञ्चेबाजा घन्कीरहेको थियो । टाइसुटमा सजीएका बालक देखि बृद्धसम्मका मान्छेहरु, साडि र गरगहनामा पुरीएका युवती तथा महिलाहरु । उपस्थितहरुको स्वभाव, चालढाल, पहिरन, ठाँट हेर्दा लाग्थ्यो, कि आज उनिहरु सबैको बिहे हो । कोही निरन्तर रुपमा बाजको तालमा नाचीरहेका थिए । कोही धेरै पछि भेटिएका आफन्तहरु एक आपसमा सुखदुःखका प्रशङ्गहरुमा कुरा गरिरहेका थिए । कोही बडे विद्धान पाराका भलाद्मीहरु देशको, राजनितीको, विभिन्न नेताहरुको तथा आ–आफ्नो कार्यक्षेत्रका विषयमा पाण्डित्य सहितको प्रतिवेदन साटासाट गरिररहेका थिए । उनिहरुलाई विहेको रौनकले पटक्कै छोएको थिएन । उनिहरुको कुरा गराइको शैली सुन्दा लाग्थ्यो, उनिहरु हरेकलाई हरेक प्रशङ्गको लगभग पुरा ज्ञान छ । स्वनामधनी विद्धानहरुको बडो चित्त नबुझ्ने कुरा जहाँपनि जान्ने पल्टिनु पर्ने र प्रशङ्ग बिना नै पाण्डित्य छाँट्नुपर्ने । हो त मलाई यस्ता मान्छेहरु प्रति बडो दया जागेर आउँछ । जुन ठाउँमा जे भैरहेको छ र जहाँ जे कामको लागि सहभागी भइदैछ, त्यहाँ त्यही कर्ममा सहभागी भएर आनन्द ग्रहण गर्न नसक्नुजस्तो दुःखद् कुरा के हुन सक्छ ? त्यस्ता मान्छेहरुले जीन्दगीको केही प्रतिशत पनि असली खुसी बाँच्न सक्दैनन् । पण्डितले केटोलाई पुजाविधी गराउँदै थिए । हिजोसम्मको व्यग्र पतिक्षा सँगैको उल्लास खै कता हरायो । प्रकृयाहरु पूर्ण रुपमा पुरा गरिदै थिए । आखिर समय समय हो, समयलाई कसैको भावना अनुरुप छिटो वा ढिलो चल्नुपर्ने कुनै बाध्यता छैन । चलन अनुसारका रीतहरु यथा समयमा पुरा गरिए । सबैजना हर्षभावमा थिए शिवाय बेहुलो । जन्ती प्रस्थान गर्नुअघि केटोले आफ्नाहरुलाई टिका लगाउँदै साइनो अनुसारको कोसेली दियो । आफन्तहरुले पनि साइनो अनुसार पालैपालो बेहुलोलाई टिका लगाइदिए । हिड्ने बेलामा आमाले केटोलाई पछ्यौराले मुख छोपेर दहि खुवाइन् । जन्ती बाजागाजा सहित ३ गाडि खचाखच थिए । बेहुलोको लागि छुट्टै कारको व्यवस्था थियो । सजीसजाउ गाडिहरुमा सजीसजाउ जन्ती प्रस्थानपछि घरमा महिलाहरु रत्यौलीको तयारी गर्न थाले । विहेको कुरालाई धेरै नलम्ब्याउँ होला । जन्ती दुलहिको घर पुगे, रीत अनुसारका कर्महरु गरिए । विहे सम्पन्न भयो । फर्कने बेलामा साँझ झिमिक्क परिसकेको थियो । यानिकी बिहेको दिन सकिएर साँझ, रातमा बद्लीदै थियो । विहेको दिन कथाको अन्त्य हो, त्यसकारण साँझ र रातको बारेमा लेख्न मिल्ने कुरै भएन । बिहे सकिएपछिका कुनै पनि प्रशङ्गहरु कथामा आउने छैनन् । हामी कथाको अन्त्यमै धेरैबेर रुमल्लियौँ । सायद अव कथाको सुरुवाती बिन्दु खोज्नु पर्छ । हो त सुरुवात मुख्य कुरा हो ।
केटो ७ बर्षको हुँदा नेपाल प्रहरीमा ९ बर्ष सेवारत पिताको जागिर सरुवा तराइको कुनै जिल्लामा भयो । ९ बर्ष उसले पहाडमा जागिर गरेको थियो । उनिहरुको घर पन पहाडमै थियो । यद्दपी घर र जागिरको जिल्ला भने फरक थियो । सुरक्षा सेवामा सायद घरपायक नियुक्ति नदिने नियम बनाइएको हुन्छ । तराइ सरेको केही बर्षमै उसले आफ्नो परिवारलाई पनि आँफु सेवारत जिल्लाको छिमेकी जिल्लामा बसाइँसराई गरायो । तराई झरेपछि केटो कक्षा ७ मा भर्ना भयो । केटो पढाइमा तिक्ष्ण थियो । विद्यालय, प्लस टु र स्नातक उत्कृष्ट अंकसहित उतिर्ण गरेको केटोले २२ बर्ष पुग्दा नपुग्दा लोकसेवाको परिक्षामा पहिलो पटक सहभागी भयो । पहिलो पटकमै नायब सुब्बामा नाम निकालेर जागिर खान सफल भयो । जागिरसँगै स्नातकोत्तरसमेत लगातार उत्तिर्ण ग¥यो ।
केटिको जन्म तराइमै भयो । स्थाई शिक्षककी माइली सुपुत्री सानैदेखि पढाइमा मध्यम भएपनि कुनै बर्षले केटिलाई कक्षा दोहो¥याउने सुचिमा धकेल्न सकेन । कक्षा १२ को परीक्षा सकेसँगै एक बोर्डिङ्ग स्कुलको प्रा. वि. तह शिक्षिका भई । स्नातक पनि निरन्तर रुपमा उत्तीर्ण गरी । स्नातक दोस्रो बर्षबाट उ नि. मा. शिक्षिकाको रुपमा काम गर्दै आइरहेकी थिई ।
टिकाटालो पछिका फोन सम्वादहरुमा केटा र केटीले एक अर्काको अत्यन्त नजीक भएको महसुस गरे । अगाडि भने जस्तै जीवनका धेरै आयामहरु र आ–आफ्ना बारेमा धेरै कुुराहरु साटासाट गरे । निरन्तरको फोन सम्वादकै क्रममा केटीलाई लाग्यो यती धेरै विश्वासको सम्बन्धमा केहि पनि लुकाउनु स्वभाविक हुँदैन । तसर्थ पनि विगतका हरेक कुराहरु भन्नुपर्छ । केटीले बिहेको एक दिन अगाडिको फोन सम्वादकै बिचमा अनायास भनी :
हजुरसँग एउटा कुरा गर्नु थियो ।
: के कुरा ?
: हजुर रिसाउने त होइननी ?
:किन रिसाउनु नि भनन के कुरा हो ?
: हैन, मलाई डर लागेको छ । रिसाउनु हुन्छ कि ?
: रिसाउन्न के, विश्वास छैन र ?
: विश्वास भएर त भन्न खोजेको नि ।
: अनि भनन त ।
:साँचि भनम् ?
: भन ।
: नरिसाउनु है त ।
: हस् के रिसाउँदीन ।
सुन्नुन, म १२ कक्षामा पढ्दाको कुरा हो । हाम्रो क्याम्पसमा ब्याचलर पनि सँगै थियो । १२ कक्षाको पहिलो महिनाको केहि दिन मात्र बितेको थियो । एकजना ब्याचलर फस्ट् इयर् पढ्ने केटाले दिनदिनै जसो मलाई हेर्न थाल्यो । एकदिन क्यान्टिनमा खाजा खाइरहेको समयमा नजीकै आएर मसँग सोध्यो ः हजुरको नाम के हो ? मैले मेरो नाम बताएँ । मैले नसोधे पनि उसले आफ्नो नाम बतायो अनि त्यहाँबाट गयो । त्यसपछि हरेक दिन उ मसँग बोल्ने, साञ्चो बिसन्चो सोध्ने गर्न थाल्यो । मलाई बाध्यताले पनि उसको जवाफ दिनै कर लाग्थ्यो । केहि दिनपछि उसले मलाई फेसबुकमा रिक्वेष्ट पठायो । मैले उसको रिक्वेष्ट केहि दिनसम्म एसेप्ट गरिन । तर उसले भेटेरै रिक्वेष्ट एसेप्ट गर्न अनुरोध ग¥यो । मैले सोँचे फेसबुकमा जोडिदैमा के नै हुन्छ र । उ दिनदिनै कलेजमा बोल्थ्यो । फेसबुकमा पनि म्यासेज गरिरहन्थ्यो । मैले उसका प्रश्नहरुको उत्तर त दिन्थेँ तर उसको बारेमा केहिपनि सोध्थीन । उसँग बोल्न लागेको पनि ४ महिना भन्दा बढि भैसकेको थियो । उसले हरेक दिन जसो मसँग मेरो हालखबर सोध्दा, म्यासेजमा पनि सञ्चो बिसञ्चो सोधिरहँदा मलाई पनि कता कता उसको स्वभाव मन पर्न थालेको थियो । अव म पनि फेसबुकमा उसले मलाई सोधेजस्तै प्रश्नहरु उसको बारेमा सोध्थेँ । बिस्तारै हामी नजिक भैरहेका थियौँ । बिस्तारै हामी फोनमा समेत कुरा गर्न थाल्यौँ । केहि समयपछि उसले मलाई कलेज समयपछि कतै बाहिर भेट्ने अनुरोध ग¥यो । र थप्यो तिमीसँग विशेष कुरा गर्नु छ । मलाई उसको व्यबहारबाट धेरै कुराको त अनुमान भैसकेको थियो । मैले सोँचेजस्तै उसले भेटमा अलि डराएजस्तो, केहि लजाएजस्तो गरेर भन्यो ः म तिमीलाई प्रेम गर्छु । मैले न हुन्छ भन्न सकेँ, न हुन्न भन्न सकेँ । मलाई उसले मन पराएको कुरा त मैले उसले नभनेरै पनि धेरै पहिल्यैबाट थाहा पाएकि थिएँ । उसको व्यबहारले त्यो कुरा सहजै बुझ्न सकिन्थ्यो । तर पनि सायद उमेर नै त्यस्तै होला, मैले उत्तिखेरै केहि निर्णय लीन सकिन । उसले प्रस्ताव राखे पछि घर गएर मैले सोँचे, हो त उसले मलाई माया गर्छ । बानि व्यबहार पनि ठिक छ । आखिर मलाई पनि त उ राम्रो लाग्छ । उसँग कुरा गर्दा घण्टौँ बितेको थाहा हुँदैन । मैले सोँचे सायद उहि मेरो जीवनको असल सहयात्री हो । अनि म्यासेज गरेँ, मलाई हजुरको प्रस्ताव स्विकार छ । केहि महिना हामी कलेजमा सँगै भयोँ । हामी प्राय खाजा समयमा सँगै खाजा खान्थ्यौँ । भेटमा, फोनमा, च्याटमा धेरै कुराहरु गथ्र्यौँ । मेरो प्लस टु सकिएपछि ब्यचलर पढ्नको लागि म अर्कै कलेज जानुपर्ने भयो । कारण थियो, त्यहाँको ब्याचलरमा मेरो बिषय अध्ययन हुन्थेन । केहि समयसम्म त हामी पहिले जस्तै नजिक भैरह्यौँ । भन्न त भौतिक दुरीले मनको दुरी अझै निकट हुन्छ भनेर सबैले भनेको सुन्छु तर यथार्थमा त्यस्तो नहुँदो रहेछ । बिस्तारै हामी बिचको दुरी बढ्न थाल्यो । पहिले जस्तो भेट त सम्भव नै थिएन तर फोन र च्याट पनि एकाएक कम हुन थाल्यो । दिउसोको समयमा म स्कुलमा ब्यस्त हुन्थेँ । साँझ बिहान पनि उ त्यति कुरा गर्न नखोजे जस्तो गर्न थाल्यो । मैले धेरै पटक कारण सोधिरहेँ तर उसले अनेक बाहाना बनाएर टाथ्र्यो । मेरो ब्याचलर सेकेण्ड् इयर्को २÷३ महिना बित्दै थियो । स्कुलमा पनि मेरो कक्षा ५ सम्मको जीम्मेवारी बढेर कक्षा ८ सम्म पुगेको थियो । मलाई याद छ त्यो मंसीर महिनाको ७ गतेको दिन थियो, साँझ खाना खाइवरी फेसबुक के खोलेकी थिएँ, मेरो मन साह्रै रोयो । उसले आफ्नो इन्गेज्मेन्टको फोटो फेसबुकमा अपलोड गरेको थियो । दुखेको मनलाई केहि सम्झाएर सोँचे, सायद उसको प्रेम जवानीको आकर्षण मात्र थियो । त्यसपछि मैले उसलाई फेसबुकबाट, फोनबाट ब्लक लिस्टमा राखेँ । आजसम्म फेरी कहीँ कतै भेट भएको छैन ।
अब मेरो मन हलुङ्गो भयो । हजुरजस्तो बुझ्ने मान्छे जीवनसाथीको रुपमा पाउँदैछु, म भाग्यमानी छु । हजुरलाई छोटो समयमा यो मनले गरेको विश्वास र हजुरले मलाई गरेको विश्वासले मैले मेरो जीवनको यो नमिठो कुरा हजुरलाई नभनी बस्नै सकिन । सरी है ।
हैन ठिकै छ, केटोले भन्यो, ठिक नमानेरै पनि । सुन्दै गर्दा केटालाई बडो नराम्रो लागेको थियो । केटोले बुझेको थियो, कुनैपनि केटाले आफ्नो प्रेमीका, वा श्रीमतीको अर्को प्रेम पसङ्गबारे थाहा पाउनु जत्तिको दुःखद् कुरा अरु केहि रहेनछ । चाहे त्यो नियतीको गल्ति नै किन नहोस् । केटिहरुलाई चाहिँ कस्तो लाग्दो हो उसले जान्ने प्रयत्न गरेन । अरु सामान्य कुराकानी पछि फोन सम्वाद सकियो । केटोलाई पटक–पटक लागिरह्यो, केटीले यो कुरा नभनेको भए हुने । अब भने बुझ्न सकिन्छ, कि बिहेको दिन केटो दुःखी देखिनुको कारण के थियो ? राती केटो बडो दुविधामा प¥यो, विघ्न विश्वासले गर्दा आफ्नो बारेमा सबै कुरा भनेर बफादार श्रीमती बन्ने कोसीस गर्नु केटीको गल्ती थियो वा थिएन । त्यति सानो कुराले सम्पूर्ण तयारी भैसकेको बिहे रोक्ने कुरा गर्नु त के सोँच्नु समेत मूर्खता शिवाय अरु केहि हुन्थेन । तर पनि केटोको मन दुखीरह्यो । हुुन त केटाको पनि स्नातक द्धित्तिय बर्षतिर एक केटिसँग मधुर सम्बन्ध थियो । उनिहरु लगभग १ बर्ष एकअर्काको प्रेमी प्रेमीका बनेका थिए । धेरै ठाउँहरुले उनिहरु भेटेको, प्रेमील कुरा गरेको देखेसुनेका थिए । खै बिचमा के भयो प्रेमप्रसङ्गगको उत्तरार्धमा केटाकेटि छुट्टिएका थिए । त्यसपछि केटो प्रेम सम्बन्धमा परेन । हुनेवाला श्रीमतीले फोन वार्ताको क्रममा धेरैपटक केटाको प्रेम प्रसङ्गको बारेमा नसोधेको पनि कहाँ हो र ? केटोले पढाइको व्यस्तताले त्यता ध्यान नै गएन भनेर टारेको थियो । केटीले आफ्नो अधुरो प्रेम सुनाएपछि उसलाई लाग्यो, मैले धन्न भनेनछु, भनेको भए उ पनि म जस्तै दुःखी हुने थिई ।
सुरुवातमै अन्त्य भएको कथाको सुरुवात खै कता पो आयो ? सायद तपाइंले भेटिसक्नु भयो होला । केटीले आफ्नो प्रेमबारे भनेर गल्ती गरी वा सहि गरी केटाले छुट्याउन सकेको छैन । र मैले पनि ठ्याक्कै सहि वा गलतको तराजुमा केटीको त्यो कदमलाई जोख्न सकेको छैन । जीवनभर सँगै हुने सहयात्रीको विश्वासमा ठेस् नलागोस भनेर, हरेक कुरा भन्नुपर्ने कुरालाई धर्म सम्झेर, केटीले आफ्नो प्रेम बताउनु सहि थियो, या गलत ? यो मैले पाठकहरुको जीम्मामा छोड्छु । मलाई लाग्छ, हरेक कथाकारको महत्वपूर्ण पक्ष भनेको पाठक हो । पाठक नभए न त कुनै कथाकार हुन्छ न कुनै साहित्यकार नै । अझ सोँचौन, उपभोक्ता बिना उत्पादन र उत्पादकको मूल्य के होला ? धेरै कथाकारहरुले जस्तो सम्पूर्ण कुराको निर्णय आँफैले लिएर, पाठकहरुको बौद्धिकता, निष्ठा र महान जिम्मेवारी प्रति गैरजिम्मेवार बन्न, म कहाँ सक्छु ? हो त, कथामा मैले धेरै जीम्मेवारी पाठकहरुलाई सुम्पेको छु । यसको अर्थ हो मैले पाठकहरुलाई अगाध स्नेह र सम्मान गर्छु । त्यसैले विश्वासको पवित्र आयाममा खोट लाग्न नदिने प्रयत्न स्वरुप हुँदै गरेको पतिसँग पुर्व प्रेम खोतल्नु केटीको गल्ती थियो वा थिएन यो तपाइंहरु नै निर्णय गर्नुहोला । विहेको दिन अन्त्य भएको कथालाई लम्ब्याएर विहेपछिको केही जीवन वा पुरै जीवन तथा केटीको सत्य अभिव्यक्तीको प्रभावले केटा र केटीको जीवन यात्रामा परेको असरलाई समेत अनुमान लगाउन सक्ने पूर्ण अधिकार पाठकहरुलाई प्रदान गरिएको छ ।
धन्यवाद ।
युगीन साहित्य समाज, नेपाल
देवदह, रुपन्देही
