आमा

-विद्या सागर पाण्डेय
आमा समीप हुँदा
उनको मायाको न्यानो स्पर्शले
हाम्रो जीवनको
हर बिहानीमा
लाली छरिदिन्छ,
सत्कर्म र सत्मार्गमा
निरन्तर अगाडी बढ्दै
हाम्रा पाइलाहरू
सफलताको शिखर सम्म पुग्ने
ऊर्जा भरिदिन्छ ।
केही पल सन्ततिबाट
टाढा भए पनि
घामको पहिलो किरणको
हरेक स्पर्शले
आमाकै न्यानो मायाको
आभास लिएर आउँछ
जीवन सङ्घर्षका
हरेक पलहरूमा
मन्द हावाले पनि उनकै
निःस्वार्थ प्रेमको
सुवास लिएर आउँछ ।
त्यसैले त
टाढा हुन् वा नजिक
जहाँ भए पनि
माया, ममता, स्नेह, निःस्वार्थ पन, …..
सम्पूर्णको सार अनि
हरपल जीवन जिउने आधार हुन् आमा !
