मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मुक्तक



-काशी निर्दोष

१.एक बार होइन नि हजुर बार- बार हुन्छ
दुरुस्त बर्खा मासको झरीझैँ लगातार हुन्छ
चुनाव आउँछ नेताले जितिरहन्छन् यहाँ
विडम्बना जिताउने हातको सधैँ हार हुन्छ

२.मन सुन्दर हुनुपर्छ अनि सदाचारी हुनुपर्छ
सत्यता र इमानको हरक्षण पुजारी हुनुपर्छ
जसले रातमा भिखारीको धनमाल लुटेर लग्यो
बिहान उसैले खोक्यो मान्छे त उपकारी हुनुपर्छ

३.दामी लुगा, आभूषणमा पक्कै पनि सजाइने छैन
बाँसकै अर्थी चढ्नुहुन्छ पञ्चेबाजा बजाइने छैन
कुकर्म गरी धन जोडेर के गर्नुहुन्छ महोदय
प‌ैसाको चितामाथि हजुरको शव जलाइने छैन।

४.अनावश्यक लोकाचार त्याग्नुपर्छ
दुश्मनी र रिसको खार त्याग्नुपर्छ
केबल मुहारले मान्छे बनिदैँन
मान्छे बन्न तअहङ्कार त्याग्नुपर्छ ।

५.आँखा भएर हुँदैन संसार नदेखेपछि
चरित्रमा थुप्रिएका अँगार नदेखेपछि
जति नै उँचो भए पनि गर्लम्मै ढल्छ मान्छे
उसले स्वयम् टेकेको आधार नदेखेपछि

६.सानातिना नभएर घगडान रहेछन्
हरेक प्राणीका लागि वरदान रहेछन्
सन्तान खुसीमा आफ्नो खुसी बेचिरहने
साँच्चिकै बाआामा जीवित भगवान् रहेछन्

७.उठ्नुहोस् तन्द्राबाट अनि एउटा कुराको तर बुझ्नुहोस्
असिनाको आयु जस्तै होइन नि जीवनभर बुझ्नुहोस्
चोट,चाप सहनुहोस् मज्जाले सुन्दर बन्छ यो जीवन
जस्तो मूर्ति बन्छ हजारौँ चोट सहेर पत्थर बुझ्नुहोस्

८.आफ्नै छविलाई हत्या गर्ने पासो नबाट्नुहोस् हजुर
मर्नुपर्छ त पक्कै जिब्रोले झुट नछाँट्नुहोस् हजुर
बरू काट्नुहोस् भ्रष्टका शिर त्यति पाप नलाग्न सक्छ
अक्षम्य पाप लाग्छ अरूका कुरा नकाट्नुहोस् हजुर

सत्यवती-१,रामबारी, गुल्मी
हाल:सुनवल-७, नवलपरासी