मुक्तक

१
पराइ हुन्न हजुर शत्रु आफ्नै मित्र हुने रैछ
बाहिर आहा!अनि डाहा भित्र भित्र हुने रैछ
विश्वास पनि कसको गर्नु र यो पापी दुनियाँमा
आफू राम्रो बनी अरूलाई गिराउने चरित्र हुने रैछ
२
केही चिन्ता छ केही छ डर अरू के भनौँ!
जिन्दगी को हुन्न भन्छन् भर अरू के भनौँ!
तिमी छैनौ छैन जस्तो लाग्दै छ जिन्दगी
यस्तै छ अचेल मेरो खबर अरू के भनौँ!
३
आँखा का आँसु आँखा मै लुकाई भनिदिए!
कोही जाँदै मा फरक पर्दैन मलाई भनिदिए!
मनले त उसलाई नजाऊ भन्दै रोक्दै थियो
मुखले भने जाने भए जाऊ बिदाइ भनिदिए!
४
थोरै अगाडी सरेर हेर्नुहोस् हार कहिल्यै हुँदैन
र कोसिस गरेर हेर्नुहोस् हार कहिल्यै हुँदैन
तपाई आँखाको कसिङ्गर नबन्नुहोस् न मित्र
मेरो प्रेममा परेर हेर्नुहोस् हार कहिल्यै हुँदैन
