मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मुक्तक



-जानकी मञ्जरी

(१)

तिमीलाई माया गर्न कुनै आधार चाहिन्न
मात्र तिमी भए पुग्छ अरू संसार चाहिन्न
मेरो मनको कुरा त्यो मनले सुटुक्क बुझ्नु
बस् दुनियाँलाई सुनाउन कुनै प्रचार चाहिन्न

(२)

थोरै पीडा मनमा अनि थोरै चोट हुनुपर्छ
र त अघि बढ्ने जीवनमा अठोट हुनुपर्छ
त्यति बेला जिन्दगी सार्थक हुन्छ जति बेला
आँसु पुछ्ने रुमाल नभै हातमा नोट हुनुपर्छ

(३)

ख्याल ख्यालले जिन्दगी चल्दैन पक्कै
नउमारी बिरुवा त्यो फल फल्दैन पक्कै
हिम्मत र हौसला आफू भित्रै जगाएमा
सानो हावा हुरीले त रुख ढल्दैन पक्कै

(४)

भेट्दा अङ्गालोमा छुँदा चुप्पा दिए पुग्छ
दुबै जना काखमा हुँदा चुप्पा दिए पुग्छ
कान्छु तिम्लाइ फकाउन छैन कुनै गाह्रो
छेउमै बसी सुँक्क रुँदा चुप्पा दिए पुग्छ