मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मुक्तक



-सम्झना थापा मगर

(१)
गिट्टी बालुवा चाल्दा चाल्दै जिन्दगी सकियो
मनमा सपना पाल्दा पाल्दै जिन्दगी सकियो
खै कहिले आउँछ होला सुखको दिन पनि,
फाटेको जीवन टाल्दा टाल्दै जिन्दगी सकियो |

(२)
खै कसरी तिम्रो याद आउने आदत बस्यो
यादै यादमा डुब्ने यो कस्तो सङ्गत बस्यो
सँगै बाँच्ने भनी खाएको कसम तोडेपछि,
मुटु भित्र कहिल्यै निको नहुने खत बस्यो |

(३)
गन्तव्य विहीन यात्राको निश्चित बास हुँदैन
छोडी जाने निष्ठूरीको कुनै पनि आस हुँदैन
थाहा छैन कहाँ गई कुन बेला ढल्छ जिन्दगी,
सधैँको जस्तो शरीर हेर्नुस् एकनासको हुँदैन |

(४)
एक अर्कोलाई सहयोग गर्नु हित हो
यसरी संयोगले भेट हुनु नै मित हो
संसारको नाट्यशालाबाट बिदा लिई,
एक दिन मर्नु नै पर्छ यो हाम्रो रित हो |

पु.ब.न.पा -१ प्रगतिनगर स्याङ्जा