मुक्तक

-सुमन धमला
(१)
ईज्जेत, मान,प्रतिष्ठा सबै बिकाउँछ समयले
सोच्दै नसोचेको बाटो पनि हिँडाउँछ समयले
नगर्नु कहिल्यै पनि धन सम्पत्तिको घमण्ड,
एकदिन सुन बेचाएर नुन किनाउँछ समयले।
(२)
विना स्वार्थ यहाँ कोही रुँदैन रैछ थाहा भयो
दुःखको बेला कसैले हात छुँदैन रैछ थाहा भयो
यहाँ मुखले मात्र हो रहेछ तेरो लागि म छु भन्ने ,
समस्या पर्दा साथमा कोही हुँदैन रैछ थाहा भयो।
(३)
गल्ती मैले गरेको हुँ हाम्रो कसरी भन्न सक्छु
मिठो बोली छ तिम्रो चाम्रो कसरी भन्न सक्छु
जस्तो जेजे भए पनि मनले रोजेको मान्छे हौ,
अहिले तिम्रो बारेमा नराम्रो कसरी भन्न सक्छु।
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा
