मुक्तक
-कमला घिमिरे अधिकारि
१
परिश्रमीले फसल फलाउँछन् कान्ला र आलिमा पनि
अहङ्कारको राग आउँछ कतै कतै तालीमा पनि
मुखले चिप्लो घस्दैमा कोही आफ्नो हुन्न रहेछ,
आशीर्वाद नै मिल्छ हजुर बा-आमाको गालीमा पनि ।
२
ताल, सुर मिलाउन डम्फु, मादल, तबला चाहिन्छ रे
सरस्वतीले बास गरेको अनुपम गला चाहिन्छ रे
अनि मात्र मन्त्र मुग्ध सङ्गीत सुनिने रहेछ हजुर,
स्वाभिमानी भई जिउन पनि छुट्टै कला चाहिन्छ रे ।
३
भ्रम भरिएको संसारमा वास्तविक नहुनु धेरै
कल्पनाले महत्त्वाकाङ्क्षी बनाउँछ काल्पनिक नहुनु धेरै
अत्यधिक हुनु पनि पोखिनुको लक्षण हो रे,
त्यसैले आवश्यकता भन्दा बढी नजिक नहुनु धेरै ।
४
झ्याङ्गिएको वृक्ष हेर्छन् सबै कसले हेर्छ जरालाई
हेयकै दृष्टिले हेरिन्छ यहाँ गरिबका टहरालाई
त्यागको अनुपम उदाहरण हो रित्तिएर पनि हाँस्न सक्नु,
त्यस्तै, फूलले सधैँ स्वागत गर्छ मुस्कुराउँदै भँवरालाई ।