मुक्तक

-शरद प्रधानाङ्ग
१)
परेलीको आँसु पोखिएर नदी भएपछि
अवमूल्यन श्रमको मूल्य घटी भएपछि
जालझेल भुईमान्छेको जिन्दगीमा सधैं;
समयमा परिस्थिति हथकडी भएपछि।
२)
आज आफैबाट विरानो भएछुँ तिमीलाई विदा गर्दा
आँसु पोखिएर भकानो भएछुँ तिमीलाई विदा गर्दा
संस्कार श्रृङ्गार हो पराईघर आफ्नै सम्झेर सजाउनु,
पीडा छातीमा अचानो भएछुँ तिमीलाई विदा गर्दा।
३)
चिसो मौसम जाडो याम शरीरले सधैं खोज्छ न्यानो
आउँदैछ वर्षात सकिएन टाल्न धुरीको चुहिने छानो
हिम्मत, आँट, हौसला के गर्नु रोजगार नै नभएपछि,
विहान त जसोतसो फेरी साँझमा कसरी टार्ने मानो।
४)
जीवनको यात्रामा खै कस्तो कस्तो बाध्यता आउँछ
बात्सल्य ममताको छहारी आमाको छातीमा छाउँछ
बाध्यता अनि परिस्थितिले बनाउँछ दुर्गा अनि काली,
जिम्मेवारी, हिम्मत, हौसलाले विजयको गीत गाउँछ।
