गजल

डा. श्यामप्रसाद न्यौपाने
जिन्दगी कसरी टुङ्गिन्छ कसलाई के थाहा
परानको पोयो कहिले छिन्छ कसलाई के थाहा
दुर्योधनझैँ अभिमानी हुनु पर्दैन कसैले
समयले कस्तो उपहार दिन्छ कसलाई के थाहा
गेरुवा लाएर समाज छल्ने बानी नगरेकै जाति
समाजले हामी कसरी चिन्छ कसलाई के थाहा
कुबेरै भए पनि हातमा दही नजमाउनुहोला
समय कुन गतिमा हिँड्छ कसलाई के थाहा
कुल्चिएकै ढुङ्गा देवता भइरहेछन् मन्दिरमा
कसको जीवन कैले सप्रिन्छ कसलाई के थाहा
जति कसे पनि अनि जति मिलाएँ भने पनि
किन जीवन बिचैमा बत्तिन्छ कसलाई के थाहा
ठोक्नुस् चर्को भाषण घागडान अगुवा न बन्नुछ
ऊ हजुरलाई कतिमा किन्छ कसलाई के थाहा
