गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

गजल



-लक्ष्मी ढकाल

न्यानाे लाग्थ्यो हिजो तर आज पाेल्छ ऊनले पनि
हजुर सबैलाई फाइदै फाइदा कहाँ गर्छ नुनले पनि

वैद्य बाले भन्नुहुन्थ्याे आयुर्वेदिक हितकारी छ
नमिलेपछि गार्हाे हुन्छ मह त्रिफला लसुनले पनि

पाएसम्म राम्राे मीठाे आराम खाेज्छ जिन्दगीले
भित्रिएपछि नयाँ अन्न पुरानो छोड्छ घुनले पनि

टीका माला सगुन केवल मन बुझाउने बाटो न हो
फर्कि आउने निश्चित हुन्न बिदाइको सगुनले पनि

भगवानलाई दाेष लगाउँछ मान्छे आफू चुक्याे भने
बुझ्नू आधा पक्ष अन्धकारमा डुब्नु पर्छ जूनले पनि