आमा

-प्रकाश शर्मा “आँसु”
नसके आशीर्वाद लिन तिम्रो व्यर्थ जीवन जाने’छ आमा
सम्झिदा तिम्रा ती निर्दोष आँखा कटक्क यो मन खाने’छ आमा
सहज तिम्रो मुस्कान भित्र कठोर पीडाको आभास हुँदा
बाचा गर नरुनु कहिल्यै चिन्ताले जीवन लाने’छ आमा
अहो ! भाग्य मेरो कस्तो दमदार, ईश्वर तैँले रचेको संसार
यो स्वार्थी समाज भित्र तिम्रै न्यानो काख छाने’छ आमा
सहन गर्दै जीवन सन्तानलाई समर्पित गरिदिँदा
पूज्यभाव दर्साउँदै संसारले भगवान् माने’छ आमा
