गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

गजल



-आँचल कुमार शर्मा

लोहोटा रहेछ खाली कसको हो
भरिएको यो गाग्री कसको हो॥

खेल र मैदान साउती मार्छन्
आखिरमा खेलाडी कसको हो॥

ऊ पनि प्रेमी थियो कुनै बेला
ल! बताऊ वैरागी कसको हो॥

छोरो,पति,दाज्यू,भाइ कसैका
त्यसो भए त फौजी कसको हो ॥

मैले दिएको स्वीटर कहाँ छ खै!
घाँटीको गलबन्दी कसको हो॥

सुगन्ध लिएर सुगन्ध खोज्दैछ
आकर्षक कस्तूरी कसको हो॥

 काठमाडौं टोखा
शिवपुरीको काखबाट